काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले सुकुम्बासी समुदाय र जेनजी अभियन्तामाथि सरकारले गरेको व्यवहारप्रति दुःख व्यक्त गर्दै नेपाली जनतासँग सार्वजनिक रूपमा माफी मागेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद ढकालले देश अत्यन्त जटिल र अस्तव्यस्त अवस्थामा सरकारलाई हस्तान्तरण भएको उल्लेख गर्दै परिवर्तन सम्भव भए पनि त्यसका लागि समय, योजना र धैर्य आवश्यक पर्ने बताएका हुन्।
उनले जनताको अपेक्षा स्वाभाविक रूपमा उच्च रहेको स्वीकार गर्दै तीन महिनामै सरकारले सबै समस्या समाधान गरिसक्नुपर्ने अपेक्षा नगर्न आग्रह गरेका छन्। साथै, सरकारलाई पनि पाँच वर्षको काम पाँच महिनामै सम्पन्न गर्ने हतार नगर्न सुझाव दिएका छन्।
ढकालले सरकार र जनताबीच पारस्परिक धैर्य आवश्यक रहेको उल्लेख गर्दै विकास र सुधारको प्रक्रियालाई घर निर्माणसँग तुलना गरेका छन्। उनका अनुसार बलियो घर बनाउनुअघि विस्तृत नक्सा, योजना, लागत र तयारी आवश्यक परेजस्तै राज्य सञ्चालनमा पनि दीर्घकालीन योजना अपरिहार्य हुन्छ।
उनले देशको वर्तमान अवस्था गम्भीर रहेको उल्लेख गर्दै बेरोजगारी, वैदेशिक पलायन, आर्थिक संकट र आत्महत्याका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। यस्ता समस्याको समाधान हतारमा होइन, करुणा, दयाभाव र व्यवस्थित योजनासहित अघि बढ्नुपर्ने उनको भनाइ छ।
सुकुम्बासी बस्तीमा भएका घटनादेखि जेनजी अभियन्तामाथिको सरकारी व्यवहारसम्मलाई ‘कारुणिक’ भन्दै उनले त्यसबाट आफू दुःखी भएको बताएका छन्।
ढकालले अन्त्यमा भनेका छन्, 'हामीलाई जनताले निकै कठिन र अस्तव्यस्त अवस्थामा देशको जिम्मेवारी दिएका छन्। सफल हुन सजिलो छैन, तर हामी सफल हुन चाहन्छौँ। मेरो तर्फबाट भएका कमी–कमजोरीप्रति सम्पूर्ण नेपाली जनतासँग माफी माग्न चाहन्छु।'