एजेन्सी । इरानले होर्मुज जलडमरू बन्द गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको केही मिनेटमै अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले उक्त जलमार्ग खुला रहेको र अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिकी सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा 'होर्मुज जलडमरू अन्तर्राष्ट्रिय कानुनअनुसार आवागमन गर्न चाहने सबै जहाजका लागि खुला रहनेछ' भन्दै कुनै पनि अवरोध हुन नदिने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा इरानले गरेको एकपक्षीय घोषणा, धम्की र शत्रुतापूर्ण गतिविधिका बाबजुद अमेरिकी सैन्य शक्ति समुद्री मार्गको स्वतन्त्रता र सुरक्षित आवागमन कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। साथै, सेन्टकमले इरानले हर्मुज जलडमरू नियन्त्रण गर्न नसक्ने दाबी पनि गरेको छ।
यता, सेन्टकमको प्रतिक्रिया आउनुअघि इरानले हर्मुज जलडमरूको व्यवस्थापन हेर्ने अधिकारीमार्फत उक्त जलमार्ग हाल बन्द गरिएको घोषणा गरेको थियो।