काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाहबाट मृत्यु भएका गणेश नेपालीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।
आइतबार गणेश नेपालीकी आमालाई भेटेर बस्नेतले एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेका हुन्। उनले गणेशकी छोरीको स्नातक तहसम्मको अध्ययन खर्चसमेत व्यहोर्ने घोषणा गरेका छन्।
बस्नेतले गणेश नेपालीको परिवारलाई आवश्यक आर्थिक तथा अन्य सहयोगमा पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीसँग विवाद भएको थियो ।
पठाओ चलाउने गणेशको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्वील लक गरेर जरिवाना कारबाही गरेपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।
तर, उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो । गणेश काठमाडौंमा श्रीमती र छोरीसँगै बस्दै आएका थिए ।
सरकारले गणेशको परिवारसँग सहमतिको प्रयास गरिरहेको छ । शनिबार पीडित पक्ष र सरकारी टोलीबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा करिब १४ घण्टा लामो वार्ता भएको थियो । यद्यपी वार्ता टुंगोमा पुग्न सकेको छैन ।