काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिसँगै विगत तीन दिनदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रोकिएको गणेश नेपालीको शवको पोस्टमार्टम तथा परिवारलाई बुझाउने प्रक्रिया अघि बढ्ने भएको छ।
सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समितितत्काल गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ।
त्यस्तै, छानबिन समितिको प्रतिवेदन, प्रचलित कानुन र विगतको अभ्यासका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने सहमति भएको छ।
घटनाको दिन फिल्डमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरूलाई छानबिन प्रतिवेदन नआउन्जेल तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्ने सहमति पनि भएको छ।
मृतककी श्रीमती एकमाया नेपालीलाई योग्यता र क्षमताका आधारमा काठमाडौं महानगरपालिकामा रोजगारी सुनिश्चित गरिनेछ भने उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण अध्ययन खर्च महानगरपालिकाले व्यहोर्ने भएको छ। यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक समन्वय गर्नेछन्।
यस्तै, महानगरपालिकाले आश्रित परिवारलाई राहतस्वरूप यथोचित आर्थिक सहयोग उपलब्ध गराउने, काठमाडौंमा हुने काजक्रिया तथा अन्तिम संस्कारको सम्पूर्ण खर्च व्यहोर्ने तथा मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था सम्बन्धित सरकारी निकायमार्फत मिलाइने सहमति पनि भएको छ।
सहमतिपत्रमा सरकारी पक्षबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।
पीडित पक्षबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली तथा वार्ता टोलीका सदस्यहरूले हस्ताक्षर गरेका छन्।
मुगुको सोरु गाउँपालिका–१ जवलधाराका स्थायी बासिन्दा गणेश नेपाली काठमाडौंमा राइड–सेयरिङ चालकका रूपमा कार्यरत थिए।
असार २५ गते राहदानी विभाग परिसरमा पार्किङ र ‘ह्वील लक’ विवादका क्रममा उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको भोलिपल्ट असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो।
