काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले उक्त घटनाले सरकारको लोकतान्त्रिक चरित्रमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
उनले आलोचना सहन नसक्ने सत्ताले प्रहरी प्रशासनको दुरुपयोग गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाए।
‘आलोचनाको सामना गर्न नसक्ने सत्ताले प्रहरी प्रशासनको आडमा आवाज दबाउने बाटो रोज्छ। उठेका प्रश्नको जवाफ विचारले होइन, शक्ति दुरुपयोग गरेर दिने प्रवृत्ति लोकतन्त्रका लागि अशुभ संकेत हो,’ बस्नेतले उल्लेख गरेका छन्।
उनले राज्यशक्तिको प्रयोग गरेर व्यक्तिलाई नियन्त्रणमा लिन सकिए पनि जनताको आवाज र जनमतलाई कहिल्यै रोक्न नसकिने जिकिर गरे।
‘आवाज थुनेर प्रश्नहरू मेटिँदैनन्। नियन्त्रण, दबाब र शक्ति प्रदर्शनले केही समय मानिसलाई रोक्न सकिएला, तर जनमतलाई कहिल्यै रोक्न सकिँदैन। लोकतन्त्रमा असहमतिलाई सम्मान गर्नुपर्छ, दमन होइन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।