काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
उनी आइतबार झापाबाट काठमाडौं आएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
यद्यपि, उनलाई प्रहरी हिरासतमा भने राखिएको छैन।
प्रहरीका अनुसार विमानस्थलको निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भएकाले प्रसाईंलाई सञ्चारकर्मीसँग भेट्न नदिई प्रहरीको गाडीमार्फत भक्तपुरस्थित निवाससम्म पुर्याइएको हो।
उनले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधन गर्न लागेका थिए ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले निषेधित क्षेत्रमा बोल्न नदिने उद्देश्यले मात्रै नियन्त्रणमा लिइएको र हिरासतमा नराखिएको बताएका छन्।
प्रसाईं झापाबाट काठमाडौं आउने क्रममा विमानस्थलमा उनका अभिव्यक्ति लिन पुगेका युट्युबर तथा सञ्चारकर्मीलाई पनि प्रहरीले विमानस्थलको बाहिरी गेटमै रोकेको थियो।
सरकारविरुद्ध आक्रात्मक अभिव्यक्ति दिने गतिविधि गर्दै आएका प्रसाईं यसअघि जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेका थिए ।
सरकारमाथि चौतर्फी आलोचना भइरहेका बेला प्रसाईंले दिने सार्वजनिक अभिव्यक्तिले झनै माहोल भड्काउने डरले उनलाई केही समय नियन्त्रणमा लिएर घरसम्म पुर्याइएको हो।