काठमाडौं । मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट सुरु गरेको ‘पैदल न्याय मार्च’ आइतबार चौथो दिनमा प्रवेश गरेको छ। असार २५ गतेदेखि सुरु भएको यात्रा लालबन्दीबाट काठमाडौंतर्फ अघि बढिरहेको छ।
राज्यलाई आफ्ना मागप्रति संवेदनशील बनाउन र पीडितको हकअधिकार सुनिश्चित गराउन सुरु गरिएको यो पदयात्रा काठमाडौं नपुग्दासम्म नरोकिने आयोजकहरूले बताएका छन्।
यात्रामा सहभागी सयौं मिटरब्याज पीडित तथा अभियन्ताहरूले ‘चुपचाप तमसूक फाड’, ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारासहितका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराइरहेका छन्।
आयोजकका अनुसार सहभागीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्। उनीहरू करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्यका साथ यात्रा गरिरहेका छन्।