हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सरकारमा रहेका सबै मन्त्रीको राजीनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष पठाएका हुन्।
राजीनामा दिनेमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा तथा विनाविभागीय मन्त्री किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसी रहेका छन्।
प्रदेश सरकारले हालै मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेपछि एमालेका तीन मन्त्रीले मात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने तीन जना विनाविभागीय मन्त्रीका रूपमा कार्यरत थिए।
कांग्रेसले सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि केन्द्रको निर्देशनअनुसार एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
साथै एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
