काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पुजा शाही, गोकर्णेश्वर नगरपालिका–६ बस्ने सप्तरी बोदेबरसाईन नगरपालिका-३ घर भएका २० वर्षीय दिपक साह, महानगरपालिका-९ बस्ने सर्लाही बसबरीया गाउँपालिका-३ घर भएका ४१ वर्षीय जय मंगल प्रसाद निसाद र महानगरपालिका-३२ बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएकी ३७ वर्षीया मिना श्रेष्ठ खत्री रहेका छन् ।
पक्राउ मध्ये पुजाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रुपैयाँ, दिपकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ, जय मंगलले ब्रनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ३८ हजार रुपैयाँ र मिनाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।