काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकामा सडक निर्माणका क्रममा भएको भ्रष्टाचारमा तत्कालीन उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले आर्थिक वर्ष २०७५/७६ मा बेल्केढुंगा–लेखनवाडा वडा कार्यालय–दुर्सी फागोटी सडक निर्माणमा अनियमितता भएको निष्कर्षसहित बुधबार मुद्दा दायर गरेको हो। यस प्रकरणमा ८ लाख ८ हजार ६८० रुपैयाँ बिगो कायम गरिएको छ।
उक्त मुद्दामा तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सवइन्जिनियर विनोदकुमार बम, नन्दबहादुर सिंह, वडा नं. ९ का वडाध्यक्ष टक्कबहादुर बम तथा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रतिवादी बनाइएको छ ।
अख्तियारका अनुसार उक्त सडक योजनाका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। १,२०० घनमिटर ग्याभिन जाली भरिएको उल्लेख गरी नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको तथा त्यसका आधारमा उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।
तर आयोगको प्राविधिक टोलीले गरेको स्थलगत नाप जाँचमा ९३९.५० घनमिटर मात्र काम भएको भेटिएको छ।
प्रतिवेदनमा उल्लेख गरिएकोभन्दा २६०.५० घनमिटर कम काम गरी झुटा बिल तथा भरपाईका आधारमा ८ लाख ८ हजार ६८० रुपैयाँ ५७ पैसा बढी भुक्तानी गरिएको भेटिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो।