Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

साढे ३ करोडबढी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

साढे ३ करोडबढी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध करिब ३ करोड ४६ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै अध्यक्ष गुप्ताले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएको मिति २०७४ असार २० देखि २०७९ असार २८ सम्मको अवधिलाई अनुसन्धानको आधार बनाइएको थियो। 

अनुसन्धान प्रतिवेदनअनुसार सो अवधिमा गुप्ता तथा परिवारको वैध आय विभिन्न स्रोतबाट गरी कुल ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा रहेको देखिएको छ। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, बैंक ऋण भुक्तानी, अध्ययन खर्च, सेयर तथा बीमा, कम्पनी लगानी र सवारी साधन खरिदलगायतमा गरी कुल ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी भएको विवरण भेटिएको आयोगले जनाएको छ।

आय र व्ययबीचको अन्तर विश्लेषण गर्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसाको स्रोत पुष्टि हुन नसकेको आयोगको दाबी छ। उक्त रकम गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको रूपमा रहेको निष्कर्ष निकाल्दै आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो।

आयोगले गुप्तासँगै बुबा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ता लाई पनि प्रतिवादी बनाएको छ। उनीहरूलाई गैरकानुनी सम्पत्ति जफतको प्रयोजनका लागि मात्र मुद्दामा समावेश गरिएको आयोगको भनाइ छ।

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा अध्यक्ष गुप्तामाथि स्रोत नखुलेको सम्पत्ति आर्जन, पदको दुरुपयोग तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको आरोपसमेत उल्लेख गरिएको छ। सोही आधारमा कैद, जरिवाना तथा गैरकानुनी सम्पत्ति जफतको मागदाबी गरिएको आयोगले जनाएको छ।

१ वर्षअघि गुप्तालाई जिल्ला अदालत नवलपरासीले लागुऔषधसम्बन्धी मुद्दामा १ वर्ष कैद, २ लाख रूपैयाँ जरिवाना र ८ हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077