काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट सफाइ पाएका प्रतीक थापा बुधबार कारागारबाट रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले मंगलबार सुनाएको फैसलाअनुसार सफाइ पाएपछि उनी पुर्पक्षका लागि थुनामा रहेको सुन्धारा कारागारबाट मुक्त भएका हुन्।
कारागार प्रशासनले अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग आवश्यक समन्वय गरेको थियो। दुवै निकायमा आवश्यक पर्दा उपस्थित हुने गरी कागज गराएपछि थापालाई रिहा गरिएको हो।
यसै प्रकरणमा अदालतले प्रतीक थापासँगै रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई पनि आरोपबाट सफाइ दिएको छ।
प्रतीक थापा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन्।