काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई संगठित अपराध र ठगी मुद्दामा ‘मतियार’ (सहयोगी) को रूपमा दोषी ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलाअनुसार खाँणको भूमिका संगठित अपराधलाई सहयोग पुर्याउने प्रकृतिको देखिएको ठहर गर्दै उनलाई मुख्य योजनाकार नभई मतियारका रूपमा कसूरदार ठहर गरेको हो।
अदालतले यसै प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई लाई भने मुख्य कसूरदार ठहर गरेको छ।
फैसलाअनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई गरिएको अर्बौँ रुपैयाँको ठगी र संगठित अपराधमा रायमाझी, पाण्डे र राईले योजनाकार तथा कार्यान्वयनकर्ताको भूमिका निर्वाह गरेका थिए।
अदालतले खाँणको संलग्नता भने नीतिगत तहमा सहयोग पुर्याउने तथा अपराधलाई सहज बनाउने प्रकृतिको रहेको निष्कर्ष निकालेको छ।
उक्त मुद्दामा दोषी ठहर भएका सबै प्रतिवादीको सजाय भने कानुनी व्यवस्थाअनुसार छुट्टै सुनुवाइमार्फत निर्धारण गरिनेछ।