काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह बालेन र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ।
मंगलबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एडीबी अध्यक्ष कान्दाले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।
यसअघि कुनै पनि विदेशी कुटनीतिज्ञ वा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगरेका प्रधानमन्त्री शाहले पहिलो पटक विदेशी कूटनीतिज्ञलाई एक्लै भेटेका हुन्।
यो कदमलाई धेरैले राज्यको मर्यादा र कुटनीतिक प्रोटकलको पालना गरेको भन्दै प्रशंसा पनि गरेका छन्।
भेटमा प्रधानमन्त्री शाह र अध्यक्ष कान्दाबीच नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास गरी तीन वटा विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एडीबीका उच्च अधिकारीहरु सहित आइतबार राति काठमाडौं आइपुगेका अध्यक्ष कान्दाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए।
वाग्लेसँग भेटेपछि नेपाल र एडीबीबीच करिब २५ अर्ब रुपैयाँ ९१६ करोड ५० लाख अमेरिकी डलर० बराबरको सहुलीयतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।
त्यसमध्ये ११ करोड ५० लाख अमेरिकी डलर एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि खर्च गरिनेछ। त्यस्तै, पाँच करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग अन्तर्गत भन्सार तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमका लागि परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।
एडीबीको लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू सञ्चालनमा छन्।