काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले भेटवार्ता गरेका छन् । अध्यक्ष कान्डाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहलाई भेटेका हुन् ।
काठमाडौंस्थित विदेशी राजदूत र नेपाल भ्रमणमा आउने विदेशी उच्च अधिकारीहरूसँग एक्लाएक्लै भेटलाई अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले एडीबी अध्यक्ष मासातो कान्डासँग भने ‘वान टू वान’ वार्ता गरेका हुन् ।
अध्यक्ष कान्डा प्रधानमन्त्री शाहलाई एक्लाएक्लै भेट्ने पहिलो विदेशी अधिकारी हुन् । कान्डाले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटेका थिए । उक्त भेटका अवसरमा नेपाल र एडीबीबीच २५ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।
कान्डाको भ्रमण टोलीमा एडीबीको दक्षिण एसिया विभागकी महानिर्देशकसमेत रहेकी नेपाली नागरिक सोना श्रेष्ठसमेत रहेकी छन् ।
यसअघि प्रधानमन्त्रीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेट्न मानेका थिएनन् ।
प्रधानमन्त्री शाहले भेट नदिने भएपछि भारतीय विदेशसचिव विक्रम मिस्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो ।
प्रधानमन्त्री बनेपछि शाहले विदेशी कूटनीतिक प्रतिनिधिसँग व्यक्तिगत र अनौपचारिक रूपमा भेटघाट गर्ने लामो परम्परा तोड्दै गत वैशाख ८ गते काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक अन्तरक्रिया गरेका थिए ।
त्यसपछि जेठ २६ गते काठमाडौं तथा नयाँदिल्लीस्थित युरोपेली संघका २३ राजदूत तथा उपप्रमुखका साथै थाइल्यान्ड, रुस, अस्ट्रेलिया, म्यानमार, यूएई, नर्वे, फिनल्यान्ड, मलेसिया र ब्राजिलका कूटनीतिक प्रतिनिधिहरूले संयुक्त रूपमा प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
आजको भेटमा प्रधामन्त्री शाहले अध्यक्ष कान्डालाई नेपालको झण्डामा अंकित सूर्य र चन्द्रलाई देखाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको फोटोमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले नेपालको झण्डा उचाल्दै उक्त झण्डामा अंकित चन्द र सूर्य देखाइरहेको प्रष्ट हुन्छ ।
विश्वका अन्य देश भन्दा नेपालको झण्डा फरक छ । एक मात्र चारकुने आकार नभएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो। हाम्रो देशको झन्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ।
माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सूर्य छ, जसले आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउँछ। निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।
झण्डाको आकार तिनकुने भएकै कारण अलिक ठूलो हुँदा लत्रिएजस्तो हुने र झण्डामा अंकित चन्द्र सूर्य छोपिन सक्छ । त्यसैले प्रधानमन्त्री शाहले पनि एडीबी अध्यक्ष कान्डालाई झण्डा नै उचालेर देखाएको उक्त तस्विरबाटै प्रष्ट हुन्छ । यद्यपी प्रधानमन्त्री कार्यालयबाट यसबारे आधिकारीक जानकारी भने आएको छैन ।