काठमाडौं । देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा ‘झ्याप–झ्याप’ जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले यसको कारण पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ।
मन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको कार्यदललाई विद्युत् अवरोधका कारणहरूको विस्तृत अध्ययन गर्ने, समस्या समाधानका उपाय कार्यान्वयन गर्ने तथा उपभोक्ताले भोगिरहेका समस्याको प्रभावकारी रूपमा सम्बोधन भए–नभएको अनुगमन गर्ने जिम्मेवारी दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले जनताबाट आएका गुनासा तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै विद्युत् आपूर्तिमा देखिएको समस्या समाधानमा कुनै पनि प्रकारको लापरबाही वा कमजोरी सह्य नहुने स्पष्ट पारेका छन्।
उनले जिम्मेवारी पूरा गर्न नसक्ने वा लापरबाही गर्ने कर्मचारी तथा निकायलाई आवश्यक कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन्।