भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित नवदुर्गा द्योछें (देवता) घरपुगेका छन्।
नवदुर्गा देवगणको विशेष पूजाको अवसरमा प्रधानमन्त्रीले द्योछें पुगेर पूजा–आराधना गर्नुका साथै स्थानीय समुदायसँग भेटघाट गरेका हुन्।
मन्दिरमा बिहानैदेखि विशेष पूजा आयोजना गरिएको थियो। प्रधानमन्त्रीलाई स्थानीयवासी, गुठियार तथा नवदुर्गा देवगणका नाइकेहरूले परम्पराअनुसार स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधानमन्त्रीले नवदुर्गा परम्पराको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी लिँदै पुस्तौँदेखि संरक्षण हुँदै आएको अमूर्त सांस्कृतिक सम्पदाको अवस्थाबारे चासो व्यक्त गरेका थिए।
नवदुर्गा जात्रा, परम्परागत नाच, तान्त्रिक संस्कार तथा समुदायको भूमिकाबारे पनि छलफल भएको जनाइएको छ।
स्थानीय गुठियारहरूले नवदुर्गा परम्पराको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माण, द्योछेंको संरक्षण तथा जात्रा सञ्चालनका क्रममा देखिएका चुनौतीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले राज्यबाट पर्याप्त बजेट, प्राविधिक सहयोग तथा दीर्घकालीन संरक्षण योजना आवश्यक रहेको बताएका छन्।
सहभागी देवगणका अनुसार प्रधानमन्त्री शाहले नेपालको मौलिक संस्कृति र परम्परा राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएकाले यस्ता ऐतिहासिक सम्पदाको संरक्षण सरकारको प्राथमिकतामा रहेको बताएका थिए।