काठमाडौं । सरकारले कार्यकालको पहिलो १०० दिनमा सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र सहज बनाउन उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ।
शनिबार सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्दै राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र अनलाइन सेवामा महत्वपूर्ण सुधार गरिएको जानकारी दिए।
सरकारका अनुसार यस अवधिमा दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको छ भने पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरघरमै वितरण गरिएको छ।
मन्त्री पोखरेलले कम्पनी दर्ता प्रक्रियालाई थप प्रविधिमैत्री बनाइएको उल्लेख गर्दै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूले अब ‘केमिस’ प्रणालीमार्फत वेबसाइटबाटै स्थायी लेखा नम्बर (प्यान) डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बताए।
सवारीचालक अनुमतिपत्र वितरणमा देखिएको लामो प्रतीक्षा अन्त्य गर्ने प्रयासस्वरूप सरकारले ३० लाख ७५ हजार १८१ थान लाइसेन्स छापिसकेको जनाएको छ। असार मसान्तसम्म थप २९ लाख लाइसेन्स छपाइ सम्पन्न गर्ने लक्ष्य रहेको पनि उनले बताए।
यस्तै, ३२ जिल्लामा एकद्वार सेवा प्रणाली सञ्चालनका लागि बजेट सुनिश्चित भइसकेको जानकारी दिँदै मन्त्री पोखरेलले अब राहदानी र लाइसेन्स दुवै हुलाकमार्फत घरघरमै पुर्याउने व्यवस्था सुरु गरिएको बताए।