काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारको कार्यसम्पादन निराशाजनक रहेको ठहर गरेको हो।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको उक्त बैठकले सरकारले जनतालाई डेलिभरी दिने सवालमा कुनै ठोस प्रगति गर्न नसकेको दाबी गरेको छ।
'शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसदमा उठाउने, सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने र सरकारलाई जवाफदेही बनाउन संसदमा प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने,' बैठकपछि कांग्रेसले जारी गरेको निर्णयमा भनिएको छ ।
सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै कांग्रेसले अब यो विषयलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय पनि गरेको छ ।
यसैगरी मन्त्रालयगत संयोजकहरूले बुझाएको प्रतिवेदनमाथि विस्तृत समीक्षा गर्दै बैठकले प्राप्त सुझावका आधारमा सरकारलाई आफ्ना कमी-कमजोरी सुधार्न आग्रह गरेको छ।
'मन्त्रालयगत संयोजकद्वारा प्रस्तुत प्रतिवेदनमाथि समीक्षा गरी प्राप्त सुझाव तथा निष्कर्ष अनुसार आवश्यक सुधारात्मक कार्यहरू अगाडि बढाउन तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने,' दोस्रो निर्णयमा उल्लेख छ
साथै जनसरोकारका विषयमा कार्यसम्पादन प्रभावकारी बनाउन र शासकीय सुधारका प्रतिबद्धताहरू पूरा गर्न कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।