काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले कार्यकालको पहिलो १०० दिनमा १,५०० राजनीतिक नियुक्ति खारेज गरेको दाबी गरेको छ।
सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको जनाएको छ।
शनिबार सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले यस अवधिमा विभिन्न निकायमा भएका १ हजार ५०० राजनीतिक नियुक्ति खारेज गरेको जानकारी दिए।
उनका अनुसार नागरिकका गुनासा सुन्न र समाधान गर्न सञ्चालन गरिएको ‘हेल्लो सरकार’ प्रणालीमार्फत पछिल्लो १०० दिनमा १० हजार ९३२ वटा गुनासा प्राप्त भएका छन्।
तीमध्ये ८७७ वटा गुनासा पूर्ण रूपमा समाधान गरिएको छ भने ३ हजार २८६ वटा गुनासा समाधानको प्रक्रियामा रहेका छन्। बाँकी गुनासाहरू सम्बन्धित निकायमा पठाएर आवश्यक प्रक्रिया अघि बढाइएको सरकारको भनाइ छ।