Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

बालेन सरकारको १०० बुँदे प्रतिबद्धता असफल भएको कांग्रेसको निष्कर्ष

बालेन सरकारको १०० बुँदे प्रतिबद्धता असफल भएको कांग्रेसको निष्कर्ष

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।

शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलका मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै कार्यसूची अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको ठहर गरेको हो ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयका संयोजकहरूले पेस गरेका प्रतिवेदनमाथि छलफल गरिएको थियो।

बैठकपछि आङ्देम्बेको सचिवालयले जारी गरेको निर्णयअनुसार सरकारले घोषणा गरेका शासकीय सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नभएको विषयलाई संसद्मा सशक्त रूपमा उठाइने निर्णय गरिएको छ।

निर्णयमा भनिएको छ, 'शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसद्मा उठाउने, सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने तथा सरकारलाई जवाफदेही बनाउन प्रमुख प्रतिपक्ष दलको हैसियतले थप सक्रिय भूमिका निर्वाह गर्ने।'

बैठकले आगामी दिनमा मन्त्रालयहरूको कार्यसम्पादनमाथि निरन्तर निगरानी गर्ने, मन्त्रालयगत संयोजकहरूले दिएका सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक पहल अघि बढाउने तथा सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

त्यसैगरी, मन्त्रालयगत संयोजकहरूले प्रस्तुत गरेका प्रतिवेदनहरू थप छलफल र आवश्यक निर्णयका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा पठाइने निर्णय समेत गरिएको छ।

सरकारले भने शनिबार नै आफ्नो १०० दिनको समीक्षा सार्वजनिक गर्दै १०० बुँदे शासकीय सुधार कार्यसूचीको ८७.२ प्रतिशत प्रगति हासिल भएको र ७० वटा बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेको दाबी गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077