Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

मोरङ प्रशासनलाई गृहमन्त्री गुरुङले भने - सेवाग्राही होइन, अब कर्मचारी कुद्नुपर्छ

मोरङ प्रशासनलाई गृहमन्त्री गुरुङले भने - सेवाग्राही होइन, अब कर्मचारी कुद्नुपर्छ

शनिवार , आषाढ २०, २०८३

विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई अनावश्यक झन्झट र सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न कडा निर्देशन दिएका छन्।

उनले सेवाग्राहीलाई कागजात बोकेर कार्यालय–कार्यालय धाउन बाध्य बनाउने व्यवस्था हटाई एकीकृत र जनमैत्री सेवा प्रवाह सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।

शनिबार जिल्ला प्रशासन कार्यालय मोरङ को स्थलगत निरीक्षण गर्दै गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल लाई सेवाप्रवाहमा तत्काल सुधार ल्याउन निर्देशन दिए।

कागज लिएर सेवाग्राही कुद्ने होइन, अब कर्मचारी कुद्नुपर्छ। एउटा झ्यालमा कागजात बुझाएपछि अर्को कोठा वा अर्को दुलो चहार्नुपर्ने अवस्था तत्काल अन्त्य हुनुपर्छ,’ उनले भने।

विराटनगरको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै उनले सेवाग्राहीलाई घाममा लामबद्ध गराउने अभ्यास अन्त्य गरी शीतल स्थानमा बस्ने व्यवस्था मिलाउन तथा तत्काल टोकन प्रणाली लागू गर्न निर्देशन दिए।

गृहमन्त्री गुरुङले सेवाग्राहीलाई दुःख दिएर होइन, सन्तुष्ट बनाएर सेवा दिनुपर्नेमा जोड दिँदै उत्कृष्ट काम गर्ने कर्मचारीको मासिक कार्यसम्पादन मूल्याङ्कन गरिने र लापरबाही गर्ने कर्मचारीमाथि आवश्यक कारबाही गरिने चेतावनी दिए।

निरीक्षणका क्रममा कर्मचारीका लागि सफा तर सेवाग्राहीका लागि दुर्गन्धित शौचालय रहेको भेटिएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाउँदै यस्तो विभेद तत्काल हटाउन निर्देशन दिए। सरकारी कार्यालयमा सबै नागरिकले समान र सम्मानजनक सुविधा पाउनुपर्ने उनको भनाइ थियो।

यसक्रममा गृहमन्त्री गुरुङले जोगबनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा नेपाल प्रहरी अन्तर्गतको जिल्ला प्रहरी कार्यालयको समेत निरीक्षण गर्दै सीमा सुरक्षा र प्रहरीको भौतिक पूर्वाधारबारे जानकारी लिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077