Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आफ्नो निर्वाचन क्षेत्र पुगेर सुधन गुरुङले भने–म फेरि गृहमन्त्री बनेँ भने बधाई दिन नआउनु

आफ्नो निर्वाचन क्षेत्र पुगेर सुधन गुरुङले भने–म फेरि गृहमन्त्री बनेँ भने बधाई दिन नआउनु

आइतवार , जेठ २४, २०८३

गोरखा । पूर्वगृहमन्त्री सुधन गुरुङले आफू फेरि पनि गृहमन्त्री बन्न सक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले आफू फेरि पनि गृहमन्त्री बन्ने संकेत गरेका हुन् । 

प्रहरीको हिरासतमा रहेका विचौलिया दीपक भट्टसँग सझोदारी गरेको र सम्पत्ति विवरण भर्दा छलछाम गरेको आरोप लागेपछि उनले बैशाख ९ गते गृहमन्त्री पदबाट राजिनामा दिएका थिए । 

उनको राजीनामापछि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले अहिलेसम्म कसैलाई पनि गृहमन्त्री बनाएका छैनन् । यद्यपी सरकारले उनीमाथि छानविन गर्न भन्दै समिति भने गठन गरेको थियो । उक्त समितिले प्रधानमन्त्री कार्यालयमा आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । 

कार्यक्रममा बोल्दै सांसद गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका । 

आफू गृहमन्त्री हुँदा आम जनताबाट अभूतपूर्व साथ र सहयोग पाएको बताउँदै उनले भने–‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’

बयानका क्रममा आफूलाई समितिका पदाधिकारीले सम्पत्तिको स्रोतबारे प्रश्न गरेको समेत उनले बताए । गुरुङले भने–‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ? भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरिदिएँ ।’

पूर्ण रूपमा सफाइ पाउनेमा आफू आशावादी रहेको बताएका गुरुङले फेरि पनि गृहमन्त्री बन्न सक्ने संकेत गरेका हुन् । 

उनले भने–‘मैले क्लीन चीट पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला ।’

सम्बोधनका क्रममा उनले अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने बताए । 

उनले भने–‘अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ । राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन ।’

गुरुङ गोरखा क्षेत्र नम्बर १ मा २९ हजार ८९६ मत सहित विजयी भएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077