काठमाडौं । नीट (राष्ट्रिय योग्यता) प्रश्नपत्र लीक प्रकरण र आन्दोलनरत विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोधमा प्रधानमन्त्री निवास बाहिर धर्ना दिएको भोलिपल्ट लोकसभाका विपक्षी नेता राहुल गान्धीले केन्द्र सरकारको कडा आलोचना गरेका छन् ।
नयाँ दिल्लीमा आयोजित एक विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गान्धीले भारतको समग्र परीक्षा र शिक्षा प्रणाली ‘धाँधलीयुक्त’ भएको आरोप लगाए।
उनले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा, प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विद्यार्थीहरूसँग सार्वजनिक माफी माग्नुपर्ने भन्दै कांग्रेस पार्टी विद्यार्थी आन्दोलनको पक्षमा पूर्ण रूपमा उभिने घोषणा गरे।
पत्रकार सम्मेलनमा राहुल गान्धीले मुख्य ५ विषय उठाएका थिए ।
उनले विद्यार्थीमाथि प्रहरी दमनको विरोध र ‘प्रहरी जवानहरूकै सहानुभूति’, ‘१० वर्षमा १५२ प्रश्नपत्र लीक, ७.५ करोड विद्यार्थी प्रभावित’, शिक्षामन्त्रीको राजीनामा र प्रधानमन्त्रीको माफी, सरकारमाथि बहस छल्न खोजेको आरोप र विद्यार्थी आन्दोलनलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताएका थिए ।
पत्रकार सम्मेलनको सुरूआतमै सोमबार दिल्लीमा भएको ‘संसद चलो’ मार्च क्रममा प्रहरीले विद्यार्थीहरूमाथि लाठीचार्ज गरेको र कुटपिट गरेको भिडियोओ प्रदर्शन गर्दै गान्धीले सरकारको उक्त कदमको तीव्र भर्त्सना गरे।
उनले भने–‘यी विद्यार्थीहरूले त्यस्तो के अपराध गरेका थिए ? हजारौंको संख्यामा सडकमा ओर्लिएका युवाहरू केवल आफ्नो हक र निष्पक्ष शिक्षा प्रणाली माग गरिरहेका थिए। उनीहरूमाथि यसरी जाइलाग्नु राज्यको बर्बरता हो।’
मंगलबार प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गर्दा आफूलाई हिरासतमा लिइएको प्रसंगबारे सोधिएको प्रश्नमा उनले भने–‘हिजो ममाथि प्रहरीले कस्तो व्यवहार गर्यो, त्यसको मलाई कुनै पर्वाह छैन। तपाईंहरू ममाथि पाँच पटक त्यस्तै व्यवहार गर्नुहोस्, म सहन्छु। तर मुख्य ध्यान विद्यार्थीहरू र उनीहरूमाथि भएको अन्यायमा हुनुपर्छ।’
गान्धीले आफूलाई नियन्त्रणमा लिने प्रहरी जवानहरूकै भनाइ उद्धृत गर्दै भने–‘हिजो मलाई हिरासतमा लैजाँदै गरेका प्रहरीहरूले मेरो कानमा साउती मार्दै यो सरकारलाई हटाउनुपर्छ भनिरहेका थिए। प्रहरी जवानहरू पनि खुसी छैनन्, किनकि उनीहरूले पनि आफ्ना बालबालिकाको अन्धकार भविष्य देखिरहेका छन्।’
त्यसैगरी उनले देशको परीक्षा प्रणाली ध्वस्त भएको दाबी गरेका थिए । एक तथ्यांक प्रस्तुत गर्दै उनले विगत १० वर्षमा भारतभर १५२ भन्दा बढी प्रतिस्पर्धी र सरकारी परीक्षाका प्रश्नपत्रहरू लीक भइसकेको बताए । यसबाट देशका करिब ७ करोड ५० लाख विद्यार्थी र तिनका परिवार प्रत्यक्ष रूपमा पीडित भएको उनको भनाइ छ।
विद्यार्थी संगठनहरूले राखेका मागलाई समर्थन गर्दै गान्धीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान पदमा बसिरहन अयोग्य भएको टिप्पणी गरे।
उनले भने–‘विद्यार्थीहरू धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। उहाँ शिक्षामन्त्रीका रूपमा पूर्ण रूपमा असफल हुनुभएको छ र यो प्रणाली सञ्चालन गर्न अक्षम हुनुहुन्छ। शिक्षामन्त्री विद्यार्थीहरूको आक्रोशको प्रतीक बनिसक्नुभएको छ। यो प्रतीकलाई अब पदबाट हटाइनुपर्छ ।’
गान्धीले सरकारले संसदमा बहस गराउनुको साटो यो मुद्दा दबाउन खोजेको आरोप लगाए।
उनका अनुसार विपक्षी दलहरू परीक्षा प्रणालीमा दीर्घकालीन र पारदर्शी सुधार चाहन्छन्, जसमा परीक्षा सञ्चालन गर्ने एजेन्सीहरूको पुनर्संरचना, परीक्षण प्रक्रिया पुनरवलोकन र विद्यार्थीहरूबाट लिइने चर्को शुल्क घटाउनेसमेत समावेश छन्।
अन्तिममा गान्धीले कांग्रेस पार्टी र सिंगो विपक्षी मोर्चा (‘इन्डिया’ गठबन्धन) देशभरका विद्यार्थीहरूको आन्दोलनमा साथ रहने स्पष्ट पारे ।
उनले भने–‘यो मुद्दालाई लिएर देशको जुनसुकै भागमा जस्तोसुकै आन्दोलन भए पनि कांग्रेस र सम्पूर्ण विपक्षी दलहरूले त्यसलाई शतप्रतिशत समर्थन गर्नेछन्। हामी विद्यार्थीहरूको आवाजलाई दबिन दिने छैनौं ।’ एजेन्सी