एजेन्सी । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक आरोप–प्रत्यारोप तीव्र बनेको छ ।
कंग्रेस नेता राहुल गान्धीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) माथि गम्भीर आरोप लगाउँदै निर्वाचन प्रक्रियामै प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, 'आसाम र बंगाल भाजपाले निर्वाचन आयोग को सहयोगमा चुनाव चोरेको स्पष्ट उदाहरण हुन्। हामी ममता जीसँग सहमत छौं—बंगालमा १०० भन्दा बढी सिट चोरी भयो।'
राहुलले थप आरोप लगाउँदै यस्ता घटना नयाँ नभएको बताएका छन्। 'हामीले यो तरिका पहिले पनि देखेका छौं—मध्य प्रदेश, हरियाणा, महाराष्ट्र, लोकसभा २०२४। चुनाव चोरी, संस्था चोरी—अब अरू के विकल्प बाँकी छ !' उनले भने।
नतिजाअनुसार भाजपा पश्चिम बंगाल, आसाम र पुडुचेरीमा विजयी भएको छ भने केरलामा कांग्रेस नेतृत्वको गठबन्धनले जित हात पारेको छ। तमिलनाडुमा भने अभिनेता विजय को पार्टी टीभीके सबैभन्दा ठूलो शक्तिको रूपमा उदाएको छ।
सिट विवरणअनुसार पश्चिम बंगालमा भाजपा २०६ सिटसहित स्पष्ट बहुमतमा छ भने तृणमूल कंग्रेस ८० सिटमा सीमित भएको छ । कांग्रेस र वामपन्थी दलहरूले समान २–२ सिट जितेका छन्।
आसाममा पनि भाजपा १०२ सिटसहित अगाडि रहँदा कांग्रेसले २१ सिट जितेको छ। एआईयूडीएफ ले २ सिट जित्दा अन्य दलले १ सिटमा चित्त बुझाएका छन्।