काठमाडौं । सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको जनाएको छ।
शनिबार सरकार गठनको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को गत जेठ ५ गतेको निर्णयअनुसार विस्थापित परिवारहरूलाई राहत उपलब्ध गराइएको जानकारी दिए।
सरकारका अनुसार राहतस्वरूप हालसम्म ४६५ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ वितरण गरिएको छ। यो सहायता काठमाडौंका विभिन्न सुकुमवासी बस्ती हटाउने क्रममा विस्थापित भएका परिवारलाई लक्षित गरेर प्रदान गरिएको हो।
यसअघि वैशाख ११ गते सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंका १७ वटा सुकुमवासी बस्तीबाट २ हजार ६०८ परिवार विस्थापित भएका थिए।
तीमध्ये हालसम्म ३८८ परिवारलाई सरकारले सञ्चालन गरेका ‘होल्डिङ सेन्टर’मा अस्थायी रूपमा राखिएको छ। बाँकी २ हजार २२० परिवार भने होल्डिङ सेन्टरबाहिर नै बसोबास गरिरहेका सरकारको तथ्यांकमा उल्लेख छ।