बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।
ओलीको पछिल्लो समयको भाषा, व्यवहार र आफूले ‘अहंकारी प्रवृत्ति’ भनेको शैलीका कारण अहिलेको अवस्थामा एकता सम्भव नभएको उनको भनाइ छ।
शनिबार (असार २०) रुपन्देहीको बुटवलमा आयोजित नेकपाको कार्यक्रममा बोल्दै प्रचण्डले विगतको एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता किन असफल भयो भन्ने विषयमा गम्भीर समीक्षा नगरी फेरि हतारमा एकीकरण गर्न नहुने बताए।
समीक्षा नगरी अघि बढे अघिल्लो विभाजनजस्तै अर्को राजनीतिक दुर्घटना दोहोरिन सक्ने चेतावनी पनि उनले दिए।
उनले विगतको अनुभवबाट शिक्षा लिनुपर्ने उल्लेख गर्दै पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रवृत्तिको निष्पक्ष समीक्षा आवश्यक रहेको बताए।
ओलीको पछिल्लो अभिव्यक्ति र राजनीतिक शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले अहिलेको अवस्थामा एमालेसँग सहकार्य वा पार्टी एकता सम्भव नरहेको दोहोर्याए।
प्रचण्डले पार्टीका नेता–कार्यकर्तालाई एमालेसँग तत्काल एकता हुने भन्ने भ्रममा नपर्न आग्रह गर्दै विचार मिल्ने दुई–तीन साना राजनीतिक दलसँग भने छिट्टै पार्टी एकीकरणको प्रक्रिया अघि बढाइने जानकारी दिए। ती दलसँगको एकताबारे कुनै अन्योल नरहेको उनको दाबी थियो।