काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तान्तरणको बहसलाई ‘साम्राज्यवादी एजेन्डा’को संज्ञा दिएका छन्।
सोमबार बसेको पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पुस्तान्तरणको विषयलाई अनावश्यक रूपमा उचालिएको दाबी गरेका हुन्।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले सम्बोधनका क्रममा भने, “पुस्तान्तरण भन्ने कुरा साम्राज्यवादी एजेन्डा हो। साम्राज्यवादीहरूले ल्याएका एजेन्डा हुन्, पुस्तान्तरणको कुरा सही होइन।”
महाधिवेशनको तयारीका लागि आयोजित बैठकमा प्रचण्डले मुख्यतः तीन विषयमा आफ्नो धारणा राखेका थिए। पहिलो, महाधिवेशनको नियमावली र आचारसंहिताको मस्यौदा प्रस्तुत गर्दै त्यसमा केन्द्रीय सदस्यहरूबाट सुझाव मागेका थिए।
दोस्रो, नेकपा र एमालेबीचको सम्बन्धबारे प्रस्ट पार्दै उनले अहिले एकता नभई सहकार्यको चरणमा रहेको बताएका थिए। “एमालेसँग एकता होइन, सहकार्यको कुरा हो। अहिले सहकार्य गर्ने हो,” उनले बैठकमा बताएका थिए।
तेस्रो, पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले केन्द्रीय सदस्यहरूलाई गाउँ–गाउँ पुगेर महाधिवेशनको तयारीमा सक्रिय हुन निर्देशन दिएका थिए। “अब नयाँ ढंगले जानुपर्छ। पार्टीलाई नयाँ ढंगले अगाडि लैजानुपर्छ,” भन्दै उनले संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।