काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूले नयाँ पार्टी गठन गर्न लागेको भन्ने प्रचारलाई निराधार र कूप्रचारको संज्ञा दिएका छन्।
उनले वैज्ञानिक समाजवादको विचार समूह निर्माणलाई पार्टी विभाजनसँग जोडेर गलत सन्देश फैलाउने प्रयास भइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्।
सोमबार काठमाडौंमा आफूद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै खनालले आफूले कहिल्यै गुटसमेत नबनाएको व्यक्ति भएको उल्लेख गर्दै पार्टी फुटाउने उद्देश्य नरहेको स्पष्ट पारे।
“म नयाँ पार्टी खोल्न लागेको भनेर कूप्रचार भइरहेको छ। यस्तो खेल कसैले पनि नखेलोस्,” उनले भने, “वैज्ञानिक समाजवादको विचार समूह पार्टी विभाजनका लागि होइन, नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकीकृत गर्ने अभियान हो।”
खनालले अहिले नेपाली कम्युनिस्ट आन्दोलन वैचारिक खडेरीबाट गुज्रिरहेको टिप्पणी गर्दै विचार, नीति र सिद्धान्तमा गम्भीर बहसमार्फत आन्दोलनलाई पुनः सशक्त बनाउने आवश्यकता औँल्याए।
उनले कम्युनिस्ट पार्टीमा नेतृत्वको नियमित रूपान्तरण आवश्यक रहेको पनि बताए। उमेर हद र दुई कार्यकालको व्यवस्था बिना कुनै पनि कम्युनिस्ट पार्टी दीर्घकालीन रूपमा प्रभावकारी ढंगले चल्न नसक्ने उनको तर्क थियो।