Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

प्रचण्ड–माधवले नेतृत्व नछाडेसम्म नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्न सक्दैन : खनाल

प्रचण्ड–माधवले नेतृत्व नछाडेसम्म नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्न सक्दैन : खनाल

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् ।

३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै नेता खनालले संयोजक दाहालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन् ।

पार्टी नेतृत्वलाई सम्बोधन गर्दै खनालले पठाएको पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाएका छन् ।

उनले पार्टीको अन्तरिम विधानलाई ‘सार–संग्रहवादी खिचडी विधान’को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने दाबी गरेका छन् ।

खनालका अनुसार अन्तरिम विधानमा जनताको बहुदलीय जनवाद ९जबज०, प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद तथा संसदीय पुँजीवादी लोकतन्त्रका तत्वहरू मिसिएका छन्। उनले यसलाई वैचारिक रूपमा असंगत र दिशाहीन दस्तावेज भएको टिप्पणी गरेका छन् ।

उनले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले अपेक्षाविपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप लगाएका छन् ।

खनालले संयोजक दाहालमाथि आफ्नो तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टी एकता भएको ७ महिना पुग्न लाग्दा पनि आफूलाई पूर्ण रूपमा जिम्मेवारीविहीन बनाएर अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै  खनालले नेतृत्वको नियतमाथि प्रश्न उठाएका हुन् ।

एकताका बेला भएका वैचारिक सहमति उल्लंघन गरेको आरोप उनको छ । १९ कार्तिक २०८२ मा एकता हुनुअघि प्रचण्ड र आफूबीच मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मन्ने र वैज्ञानिक समाजवादको लक्ष्य राख्ने लगायतका चार सिद्धान्तमा सहमति भए पनि दाहाल ती सिद्धान्तहरूबाट विचलित भएको आरोप पत्रमा छ।

उनले दाहालमाथि माधव नेपालको गुटबन्दी र दबाबमा फसेको आरोप लगाएका छन् । दाहाल आफ्नो अडानमा बस्न नसकी माधव नेपालको सुनियोजित जाल र दबाबमा फसेको तथा नेपालले जे–जे भन्यो त्यही मात्र लागू गर्दै गएको आरोप खनालले लगाएका छन् ।

योग्य कार्यकर्ता र युवाहरूमाथि पूर्वाग्रह राखेको आरोप छ । साविक नेकपा (एस) को अन्तिम केन्द्रीय कमिटीमा माधव नेपालले आफूसँग मतभिन्नता राख्ने योग्य साथीहरू र पूर्व युवा संघका होनहार युवाहरूलाई घोर पूर्वाग्रह एवं पक्षपातपूर्ण ढंगले पाखा लगाएको र दाहालले त्यसलाई सच्याउने सहमति गरे पनि लागू गर्न नसकेको खनालको आरोप छ।

उनले माधव नेपालमाथि लागेको भ्रष्टाचारको आरोपमाथि पनि टिप्पणी गरेका छन् । विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको, सांसद पद समेत निलम्बनमा परेको र चुनावमा शर्मनाक हार व्यहोरेका माधव नेपाललाई नैतिकताको धज्जी उडाउँदै नयाँ पार्टीको सहसंयोजक बनाइएको भन्दै खनालले नेतृत्वको कडा आलोचना गरेका छन् ।

एमाले फुटाउन पदको सौदाबाजी गरेको खुलासा पनि उनले गरेका छन् । माधव नेपालले आफूलाई ओलीको दक्षिणपन्थी अवसरवादको विरोध गर्ने र वैज्ञानिक समाजवादमा जाने भन्दै झुक्याएर एमाले विभाजन गरेको तर वास्तविकतामा केवल अर्को अध्यक्ष (पद) प्राप्तिका निम्ति मात्र पार्टी फुटाएको आरोप खनालको छ ।

साविक नेकपा विभाजन गराउने आत्मघाती गल्ती गरेको आरोप पनि उनले लगाएका छन् । विगतमा एमाले र माओवादी एकता हुँदा केपी ओली र प्रचण्डले निर्वाचन आयोगको चेतावनीका बाबजुद दर्ता भइसकेको पार्टीकै नाममा ‘नेकपा’ दर्ता गराउने आत्मघाती गल्ती गरेको र त्यही सानो कमजोरीले गर्दा अदालतको बहानामा लाखौँ कार्यकर्ताको बिल्लीबाठ भएको खनालको आरोप छ।

खनालले पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको बताएका छन् । उनले दाहाललाई प्रत्यक्ष प्रश्न गर्दै भनेका छन्–‘तपाईं आफैंमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ ।’

यही कारणले पार्टी निर्माणभन्दा विघटनतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै खनालले प्रचण्ड र माधव नेपाललाई नेतृत्वबाट पछि हट्न आग्रह गरेका छन् । उनले संयोजन समितिको विशेष बैठक बोलाएर नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्ने वातावरण बनाउन सुझाव दिएका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077