काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाल संकटमा परेको बताएका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा फसेको बताएका हुन् ।
उनले विश्वको शक्ति सन्तुलन बदलिँदै गएको र पुरानो पश्चिमी वर्चस्वको विश्व व्यवस्था अन्त्यको दिशामा रहेको उल्लेख गरेका छन् ।
देशभित्रको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै खनालले कुशासन, भ्रष्टाचार र बेरोजगारीले सामाजिक–आर्थिक संकट गहिरो बनाएको बताए ।
खनालद्धारा जारी सन्देशमा भनिएको छ- 'अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरू नेपाललाई युक्रेन बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध,नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध,देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र बिध्वंशतिर लान खोज्दै छन् ।'
उनले गत भदौ २४ गते जेन्जी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र लुटपाटलाई देशी-विदेशी प्रतिक्रियावादीहरूले गरेको सुनियोजित महाविध्वंस भएको बताए ।
वर्तमान सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै उनले निष्पक्ष निर्वाचनका लागि पूर्वाधार अझै तयार नभएको आशंका व्यक्त गरे ।
