Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चाँडै स्वदेश फर्किन्छु, लोकतन्त्रको रक्षाका लागि फेरि सक्रिय हुन्छु : देउवा

चाँडै स्वदेश फर्किन्छु, लोकतन्त्रको रक्षाका लागि फेरि सक्रिय हुन्छु : देउवा

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य उपचारपछि चाँडै स्वदेश फर्किने बताएका छन् ।

विदेशमा उपचाररत रहेका देउवाले बीपी स्मृति दिवसका अवसरमा जारी गरेको विशेष सन्देशमार्फत लोकतन्त्र, संविधान र जनताको अधिकारको रक्षाका लागि पुनः नेपाली भूमिमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

करिब छ दशक लामो आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै देउवाले लोकतन्त्र, संवैधानिक शासन र नागरिक स्वतन्त्रताको पक्षमा आफू कहिल्यै विचलित नभएको उल्लेख गरेका छन्। उनले पछिल्लो समय मुलुकमा प्रतिशोधको राजनीति मौलाउँदै गएको भन्दै लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर चुनौती देखिएको बताएका छन्।

देउवाले फरक विचार र राजनीतिक मतप्रति राज्यले असहिष्णु व्यवहार देखाउनु लोकतान्त्रिक व्यवस्थासँग मेल नखाने स्पष्ट पारे। उनले राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, स्वतन्त्र न्यायपालिकामाथिको दबाब तथा संवैधानिक निकायहरूको स्वायत्ततामाथि हस्तक्षेप गरेर प्रतिपक्षलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाएका छन्।

जननायक बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै देउवाले अहिले देशलाई विभाजन होइन, राष्ट्रिय एकता आवश्यक रहेको बताए। उनले अविश्वासको ठाउँमा विश्वास, प्रतिशोधको सट्टा सहकार्य र द्वन्द्वको सट्टा संवादको संस्कृतिलाई स्थापित गर्नुपर्नेमा जोड दिए।

विगतका अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सिर्जनशीलतालाई एकीकृत गर्दै राष्ट्र निर्माणको साझा अभियान अघि बढाउनुपर्ने उल्लेख गर्दै देउवाले लोकतान्त्रिक मूल्य र संस्थाहरूको संरक्षण सबैको साझा दायित्व भएको धारणा राखेका छन्।

वक्तव्यको अन्त्यमा देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना, न्यायप्रतिको विश्वास र लोकतान्त्रिक भविष्यप्रति आफू पूर्ण आशावादी रहेको उल्लेख गर्दै 'म चाँडै स्वदेश फर्कने छु' भन्ने सन्देश दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077