Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयको दाबी, भन्यो- हात भाँचिएको छैन

देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयको दाबी, भन्यो- हात भाँचिएको छैन

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सार्वजनिक भएका समाचारप्रति उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ। 

सचिवालयले देउवा लडेर घाइते भएको वा हात भाँचिएको भन्ने समाचार पूर्ण रूपमा असत्य रहेको स्पष्ट पारेको हो।

यसअघि कांग्रेस स्रोतले बताए अनुसार अनलाइन नेपाल डटकम लगायत विभिन्न सञ्चार माध्यमहरुले देउवा शौचालयमा लडेर घाइते भएको र उनको हात भाँचिएको समाचार प्रकाशित गरेका थिए।

तर देउवाको सचिवालयले विज्ञप्ति जारी गर्दै ती समाचारको खण्डन गरेको हो।

उपचारका क्रममा सिंगापुर हुँदै हङकङमा रहेका देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा ‘देउवा लडेर हात भाँचिएको’ भन्ने समाचार आएपछि सचिवालयले त्यसलाई आधारहीन र भ्रामक भएको जनाएको छ।

सचिवालयका अनुसार देउवा न त लडेका छन्, न त उनको हात नै भाँचिएको छ। कुनै आधिकारिक पुष्टि बिना यस्ता समाचार सार्वजनिक गर्नु गैरजिम्मेवार कार्य भएको उल्लेख गर्दै यसले समाजमा भ्रम सिर्जना गर्ने जनाएको छ।

साथै, स्वास्थ्यजस्तो संवेदनशील विषयमा समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचिवालयले आग्रह गरेको छ।

देउवा गत फागुन १३ गते नियमित स्वास्थ्य परीक्षणका लागि  स्वकीय सचिवसमेत रहेका भतिजा भानु सँग सिंगापुर गएका थिए।

त्यसभन्दा अघि गत भदौमा जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा भएको आक्रमणमा उनी घाइते भएका थिए। घटनामा घाँटीमा चोट लागेपछि उपचारका लागि कात्तिक १० गते पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित सिंगापुर गएका थिए। उपचारपछि उनी कात्तिक २८ गते स्वदेश फर्किएका थिए।

पछि आरजु राणा भारतबाट सिंगापुर पुगेपछि देउवा दम्पती चैतमा हङकङ गएका थिए। त्यतिबेला देउवाको सचिवालयले थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनीहरू हङकङ गएको जनाएको थियो।

हङकङमै रहेका बेला देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको थियो।

तर, प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गराउन पहल गरे पनि इन्टरपोलले राजनीतिक व्यक्तिविरुद्ध यस्तो नोटिस जारी गर्न नमिल्ने भन्दै अस्वीकार गरेको थियो।

यद्यपी देउवा र उनकी पत्नी राणाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै २ महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धामा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

हाल हङकङमा रहेका देउवा र उनकी पत्नी राणाको हिँडडुल गरेको तस्बिर र भिडियोहरु मात्रै सार्वजनिक भइरहेका छन् । 

देउवामाथि लाग्ने गरेका विभिन्न आरोपबारे आफ्नो सामाजिक सञ्जालमार्फत् बेलाबेला खण्डन गर्दै आइरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077