एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनसम्बन्धी तथ्याङ्कमा हस्तक्षेप गरेको आरोप लगाएपछि चीनले त्यसलाई कडा रूपमा अस्वीकार गरेको छ। बेइजिङले ट्रम्पको आरोपलाई ‘पूर्ण रूपमा मनगढन्ते, कपोलकल्पित र दुर्भावनापूर्ण’भन्दै खारेज गरेको हो।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी पक्षका आरोपहरू कुनै आधार नभएका र पहिले नै असत्य साबित भइसकेको दाबी गरे।
‘चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो छैन र हामीले कहिल्यै अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेका छैनौँ,’ उनले भने।
यसअघि ह्वाइट हाउसमा बिहीबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी निर्वाचन प्रणाली गम्भीर जोखिममा रहेको दाबी गरेका थिए। उनले मतदान प्रक्रियामा थप कडाइ गर्न कानुन निर्माताहरूलाई आग्रह गर्दै चीनले अवैध रूपमा २२ करोड अमेरिकी मतदाताको फाइल प्राप्त गरेको देखाउने खुफिया जानकारी सार्वजनिक गर्ने संकेतसमेत दिएका थिए।
ट्रम्पले पछिल्लो समय आगामी ‘मिडटर्म’ निर्वाचनअघि मतदाता ठगीसम्बन्धी आफ्नो पुरानो दाबीलाई पुनः उठाएका छन्।
तर, उक्त दाबीका पक्षमा हालसम्म विश्वसनीय प्रमाण सार्वजनिक भएको छैन। रिपब्लिकन पार्टीभित्र समेत उनले प्रस्ताव गरेका निर्वाचनसम्बन्धी नयाँ प्रतिबन्धहरूलाई लिएर व्यापक समर्थन देखिएको छैन।
चीनले भने अमेरिकालाई आफ्नै गतिविधिको आत्मसमीक्षा गर्न आग्रह गरेको छ। प्रवक्ता लिनले ‘अन्य देशको आन्तरिक मामिलामा नियमित रूपमा हस्तक्षेप गर्ने बानी कसको छ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले राम्ररी बुझेको’ टिप्पणी गर्दै चीनमाथि निराधार आरोप लगाउन बन्द गर्न र द्विपक्षीय सम्बन्ध सुधारतर्फ ध्यान दिन वासिङ्टनलाई आग्रह गरे।