काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।
कांग्रेसको १२औँ ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत आयोजित ‘मानव–वन्यजन्तु द्वन्द्व र सुरक्षित सहअस्तित्व’ विषयक कार्यक्रममा बोल्दै थापाले यस विषयमा व्यापक छलफल गरी सुझावसहितको दस्तावेज तयार पारिने जानकारी दिए।
उनका अनुसार तयार गरिने दस्तावेज स्थानीय तहका सरकार र संघीय संसदका सांसदहरूमाझ पनि पठाइनेछ, ताकि नीति निर्माण र कार्यान्वयनमा यसको उपयोग होस्।
थापाले भने, ‘नागरिकको जीवनसँग जोडिएको यो अत्यन्त महत्वपूर्ण विषय हो। यसलाई राजनीतिक दलले समाधान गर्नुपर्ने विषयका रूपमा लिनुपर्छ भन्ने हाम्रो धारणा छ। यस सम्बन्धमा छलफल गरेर एउटा दस्तावेज तयार गर्छौं। त्यसपछि स्थानीय सरकारलाई पठाउँछौं र संसदमा पनि साथीहरूमाझ प्रस्तुत गर्छौं।’
उनले राजनीतिक दलहरू नागरिकका दैनिक जीवनसँग सम्बन्धित यस्ता विषयप्रति अपेक्षित रूपमा गम्भीर हुन नसकेको स्वीकार गरे।