काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राहदानी (पासपोर्ट) ठेक्का प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा आफूहरूको स्पष्ट समर्थन रहेको बताउँदै अनुसन्धान कानुनी विधि र प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाली कांग्रेसको नियमित ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचारका हरेक प्रकरणको अनुसन्धान आवश्यक भए पनि त्यसका नाममा कानुनी प्रक्रिया मिच्न नहुने धारणा राखे।
‘पासपोर्ट काण्डबारे छानबिन सुरु भएको भन्ने थाहा भयो। पासपोर्ट काण्ड छानबिन हुनैपर्छ। तर त्यसमा पनि विधि भने पछ्याउनै पर्छ,’ उनले भने।
हाल राहदानी छपाइको ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशकसहित चार जना हिरासतमा छन्। यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाको नाममा पनि म्याद तामेली गरिसकेको छ।
सभापति थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको प्रक्रियामाथि पनि प्रश्न उठाउँदै आवश्यक कानुनी आधारबिनै आयोग गठन गरिएकाले यसको वैधानिकता र प्रभावकारितामाथि शंका उत्पन्न भएको बताए।
‘हामी भ्रष्टाचारविरुद्ध लडेर आएका हौँ। तर अहिले सामान्यीकरण गरेर सबै गलत हुन् भन्ने भाष्य बनाइँदैछ,’ उनले भने, ‘हामी यो सफा गर्छौँ। त्यसैका लागि हामीसहित सबैको सम्पत्ति छानबिन गर भन्न तयार छौँ। तर त्यो काम विधि र कानुनलाई पछ्याएर हुनुपर्छ।’
थापाले शासकीय सुधारका लागि आवश्यक कानुनी व्यवस्था नगरी सम्पत्ति छानबिन आयोग गठन गर्न हतारिएको आरोप लगाउँदै यसले जनताको सुशासनप्रतिको अपेक्षा फेरि अधुरै रहने खतरा रहेको बताए।
उनका अनुसार संसदबाट स्पष्ट कानुनी अधिकारसहित शक्तिशाली छानबिन आयोग गठन गरिएको भए त्यसको क्षेत्राधिकार, कार्यशैली र विश्वसनीयता अझ बलियो हुने थियो।