चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले गर्ने भएका छन्।
असार ७ देखि ९ गतेसम्म भरतपुरमा सञ्चालन हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन समारोहमा दुवै नेताको विशेष उपस्थिति रहने पार्टीले जनाएको छ।
महाधिवेशन स्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीका महामन्त्री भूपदेव शाहले नेतृत्व चयनका लागि सहमतिको प्रयास तीव्र रूपमा जारी रहेको जानकारी दिए। उनका अनुसार पार्टी नेतृत्व सबैलाई सम्मानजनक रूपमा समेट्ने गरी सहमतिको वातावरण बनाउन निरन्तर सक्रिय छ।
‘सबै एकै ठाउँमा आएर मात्रै दुईतिहाइ हासिल गर्न सम्भव भएको हो। महाधिवेशनबाट पनि सबै साथीहरू सम्मानित रूपमा बाहिरिने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ,’ उनले भने।
सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने विकल्प पनि खुला राखिएको महामन्त्री शाहले स्पष्ट पारे।