काठमाडौं । पासपोर्ट छपाइ ठेक्का प्रकरणका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका नेपालका लागि जर्मन राजदूत उडो भोल्जले आफ्नो भ्रमणबारे सार्वजनिक भइरहेका समाचारप्रति पहिलो पटक प्रतिक्रिया दिएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जाल एक्समार्फत् धारणा सार्वजनिक गर्दै राजदूत भोल्जले आफ्नो प्रधानमन्त्री कार्यालय भ्रमणबारे आफू वा जर्मन दूतावासले कुनै पनि सञ्चारमाध्यमसँग कुरा नगरेको स्पष्ट पारे।
‘नेपालका सञ्चारमाध्यमहरूले मेरो हालैको प्रधानमन्त्री कार्यालयको भ्रमणबारे विभिन्न तरिकाले समाचार सम्प्रेषण गरिरहेका छन्,’ उनले लेखेका छन्, ‘यस विषयमा न मैले व्यक्तिगत रूपमा, न त जर्मन दूतावासले नै पत्रकारहरूसँग कुनै कुराकानी गरेका छौँ।’
उनले दूतावासले यस विषयमा प्रतिक्रिया दिन कसैलाई पनि अधिकार वा अनुमति नदिएको समेत स्पष्ट पारेका छन्।
गत सोमबार बिहान राजदूत भोल्ज प्रधानमन्त्री कार्यालय पुगेका थिए। पासपोर्ट छपाइको ठेक्का जर्मन कम्पनीले पाएको र उक्त ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप उठिरहेका बेला उनको भ्रमणलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए।
सरकारी स्रोतलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमहरूले राजदूत भोल्ज प्रधानमन्त्री बालेन शाहलाई भेट्न पुगेको, तर भेट नपाएको समाचार सार्वजनिक गरेका थिए।
ती समाचारमा प्रधानमन्त्रीका सल्लाहकारले भेट अस्वीकार गरेको, लामो समय पर्खाएपछि स्वकीय सचिवले अशोभनीय व्यवहार र बोलीबचनसहित फर्काइदिएको दाबी गरिएको थियो।
यस्ता समाचार सार्वजनिक भएपछि मित्रराष्ट्रका कूटनीतिक प्रतिनिधिप्रति प्रधानमन्त्री कार्यालयमा गरिएको भनिएको व्यवहारको व्यापक आलोचना भएको थियो।
तर, राजदूत भोल्जले आफ्नो पछिल्लो वक्तव्यमा उक्त घटनाको सत्यता, प्रधानमन्त्रीका सहयोगीको व्यवहार वा कार्यालयभित्र भएको भनिएको घटनाबारे भने कुनै टिप्पणी गरेका छैनन्।