Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन पनि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन पनि सहभागी हुने

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री शाह रास्वपाको निमन्त्रणामा आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन लागेका हुन् ।

शाह रास्वपाको वरिष्ठ नेताका रूपमा महाधिवेशनमा उपस्थित हुने र सोही जिम्मेवारीमा कायम रहने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी उद्घाटन सत्रमा मात्र सहभागी हुने तयारी छ । तर कति समयसम्म महाधिवेशनस्थलमा रहने भन्ने विषय अझै टुंगो लागिसकेको छैन ।

यसैगरी महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने भएका छन् ।

चितवनमा असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने रास्वपाको प्रथम महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई समेत निमन्त्रणा गरिएको छ ।

यता, भरतपुरमा हुने महाधिवेशनका लागि उद्घाटन तथा बन्दसत्र स्थलको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।

महाधिवेशनको उद्घाटन सत्र जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेस्ट हाउसको चौरमा हुनेछ। रास्वपाले यसअघि पनि सोही स्थानमा विभिन्न कार्यक्रम गरेको थियो। पार्टी सभापति लामिछाने प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएपछि विजय सभा पनि यहीँ गरिएको थियो। असार ७ गते दिउँसो २ बजेदेखि उद्घाटन सत्र हुनेछ। हाल स्टेज निर्माण, टेन्ट जडान तथा अन्य पूर्वाधार व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ।

महाधिवेशनमा करिब ४० हजार सहभागी हुने अनुमान गरिएको छ। त्यसमध्ये करिब ३५ सय प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूले आवासको व्यवस्था स्वयं गर्नुपर्ने भए पनि व्यवस्थापन समितिले होटल व्यवसायीहरूसँग समन्वय गरेको जनाएको छ। भरतपुर, नारायणगढ र सौराहाका होटल व्यवसायी समितिसँग सहकार्य गरी प्रतिनिधिहरूलाई सहुलियत दरमा आवास उपलब्ध गराउने व्यवस्था मिलाइएको बताइएको छ।

महाधिवेशन उदघाटनको अघिल्लो दिन अर्थात् असार ६ गते केन्द्रीय समितिको बैठक भरतपुरमै बस्ने कार्यक्रम छ।

महाधिवेशनको बन्दसत्रमा विधान अधिवेशन हुनेछ। सभापति लामिछानेले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। असार ८ गते नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

महाधिवेशनबाट एक सभापति र ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछ। विधानअनुसार सभापतिले थप २९ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ। निर्वाचित सदस्यहरूमध्येबाट १६ सदस्यीय पदाधिकारी चयन गरिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077