काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई थुनेर राखेको विषयमा सरकारको जवाफ मागेकी छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री कार्यालयका कालोचस्माधारी सल्लाहकार र सहयोगीहरूले अख्तियारका पदाधिकारी तथा अधिकारीहरूलाई नौ घण्टासम्म नियन्त्रण राखेको भन्दै आपत्ति जनाइन्।
उनले भनिन्–‘यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ। यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही नै हो त ? यति मात्र होइन, नेपालको दशकौँदेखिको प्रयासबाट निर्माण भएको कूटनीतिक प्रतिष्ठामाथि समेत आघात पुगेका समाचारहरू आएका छन्। कूटनीतिक नियोगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्याउँछ ?’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि विभिन्न मन्त्रालय सम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेकोप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।