काठमाडौं । कुनै समयका देशका शक्तिशाली व्यक्तिहरू यतीबेला डिल्लीबजार कारागारमा थुप्रिएका छन्। छायाँ सरकार चलाउने हैसियत भएका दीपक भट्टदेखि विकल पौडेलसम्म यही कारागारमा छन्।
बिचौलिया भट्ट र सुलभ अग्रवाल बुधबार यही कारागारमा चलान भएका हुन्। सम्पत्ति शुद्धीकरणको मुद्दामा बिशेष अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।
यसअघि विकल पौडेल, सुनिल पौडेल, प्रदीप अधिकारी, इच्छाराज तामाङ जस्ता चर्चित कैदी–बन्दीहरु पनि यही कारागारमा रहेका छन्। यही कारागारमा रहेका पूर्वमन्त्री राजकुमार गुप्ता र डन दिपक मनाङे भने हालै छुटेका छन्।
दीपक भट्ट, प्रदीप अधिकारी र विकल पौडेल यती शक्तिशाली बनेका थिए कि जोसुकै सत्तामा आएपनि उनीहरूकै राज चल्यो। भट्ट त सरकार ढाल्ने र बनाउने खेलमा समेत सामेल हुन थालिसकेको थिए।
अर्थ मन्त्रालयदेखि देशका नियमनकारी नियकालाई आफ्नो कब्जामा पार्दै गएका थिए। पछिल्लो समय सरकार फेरिएसँगै उनको कारागार यात्रा सुरु भएको हो।
भट्टविरुद्ध एकैपटक सम्पत्ति शुद्धीकरणसहित बिमा, धितोपत्र र बैंकिङ कसुर मुद्दा समेत दायर गरिएको छ। उनका अन्य कसुरमा अनुसन्धान जारी छ।
नागरिक उड्डयन क्षेत्रमा प्रदीप अधिकारीको पनि राज नै चलेको थियो। उनी कतिसम्म शक्तिशाली बनेका थिए भने नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक हुँदा पर्यटन मन्त्रीलाई टेर्दैन थिए। उनीविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचारमा तीन वटा तथा नलिञ्चोक हेलिप्याड निर्माणमा एउटा मुद्दा दायर भएको छ। उनी पनि पुर्पक्षका लागि कारागार पुगेका हुन्।
सूचना प्रविधिको क्षेत्रमा कुनै समय राज चलाएका विकल र सुनिल पौडेलको जेल यात्रा त डेढ वर्ष भइसकेको छ। उनीहरुविरुद्ध आधा दर्जन मुद्दा छन्। त्यसमध्ये कतिपप ठहर भइसकेका छन्।
त्यस्तै, पूर्वसांसद समेत रहेका सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ पनि चार वर्षदेखि यही कारागारमा छन्।
त्यस्तै, बलात्कार मुद्दामा पक्राउ परेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज पनि डिल्लीबजार कारागारमै रहेका छन्।