Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बालेनप्रति हर्क साम्पाङको कटाक्ष –राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन

बालेनप्रति हर्क साम्पाङको कटाक्ष –राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले प्रतिपक्षको आवाज नसुनी सत्तापक्ष अगाडि बढेको भन्दै संसदको ध्यानाकर्षण गराए। 

उनले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को विवादास्पद अभिव्यक्ति सच्याउन माग गर्दै आफूहरूले १६ दिनदेखि प्लेकार्डसहित सदनमा विरोध जनाइरहेको स्मरण गराए।

प्रधानमन्त्री शाहले प्रयोग गरेको ‘राष्ट्रघाती’ शब्द संसद्को अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले आपत्ति प्रकट गरे। 

प्रधानमन्त्री शाहप्रति कटाक्ष गर्दै साम्पाङले भने–‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौँ। मान्छे राम्रो लुगा लगाएर वा चिलो गाडी चढेर मात्र बन्दैन, उसमा नैतिकता र जवाफदेहिता हुनु अनिवार्य छ।’

उनले बजेट निर्माण र वितरणको प्रक्रियामा देखिएको प्राविधिक तथा व्यवस्थापकीय कमजोरीको पनि कडा आलोचना गरे। रक्षा मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) उपलब्ध नगराई छलफल सकिएकोमा प्रश्न उठाउँदै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जवाफदेहिता खोजे। 

यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा पनि अङ्कगणितीय त्रुटी देखिएको उनको भनाइ छ। पाँच अर्बभन्दा बढीको बजेटमा एक अर्ब ६१ करोडको मात्र स्पष्ट विवरण देखिएको र बाँकी चार अर्ब ३२ करोडभन्दा बढी रकमको ब्रेकडाउन अपारदर्शी रहेको उनले बताए। यस्तो गम्भीर त्रुटि गर्ने छुट सरकारलाई नभएको उनको तर्क थियो। 

सांसद साम्पाङले भारतको पटनामा नौ सय जना नेपाली नेटवर्किङ व्यवसायको प्रलोभनमा परी बन्धक बनाइएको सूचना प्राप्त भएको जानकारी गराए। नेपालीको मोबाइल फोन जफत गरी कुटपिट गर्ने र नियन्त्रणमा राख्ने काम भइरहेको भन्दै उनले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077