काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ ।
बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ ।
चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ ।
गत चैतमा कोशी प्रदेशमा देखिएको बर्डफ्लु संक्रमण अहिलेसम्म काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिसकेको छ ।
यस विषयमा सांसदहरुले प्रतिनिधिसभा बैठकमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि शुक्रबारदेखि चिडियाखाना बन्द गरिएको जनाइएको छ।
सूचनामा भनिएको छ, ‘सदर चिडियाखाना परिसरत्रि रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछौँ।’
