अछाम । चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा गरेको औषधि खरिद प्रक्रियामा अनियमितता देखिएको तथ्य सार्वजनिक भएको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले गाउँपालिकाले औषधि खरिदमा सार्वजनिक खरिद नियमावली, मूल्य पारदर्शिता तथा आपूर्तिकर्ता छनोटसम्बन्धी मापदण्ड पालना नगरेको औँल्याएको हो ।
प्रतिवेदनअनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ (१क) मा २५ लाखसम्मको औषधि सिधै खरिद गर्न सकिने व्यवस्था भए पनि सोही नियमको उपनियम (३ख) अनुसार उत्पादक कम्पनीले मूल्य सूची राष्ट्रियस्तरको समाचारपत्रमा प्रकाशित गरेको र स्थानीय डिलरलाई छुट दिएको प्रमाण हुनुपर्ने व्यवस्था पालिकाले पालना नगरेको देखिएको छ ।
त्यस्तै, आवश्यक औषधिको परिमाण यकिन गरी वार्षिक माग विवरण तयार गर्ने तथा ‘पुल सिस्टम’ अनुसार आपूर्ति व्यवस्थापन गर्नुपर्नेमा त्यसको अभ्यास नगरेको प्रतिवेदनमा उल्लेख छ । औषधि खरिद गर्दा उत्पादन मिति, म्याद सकिने मिति, ब्याच नम्बर, उत्पादक कम्पनीको नामलगायत विवरण स्पष्ट रूपमा उल्लेख हुनुपर्ने र कम्तीमा दुई वर्ष म्याद बाँकी भएको औषधि मात्र स्वीकार गर्नुपर्ने नियम पनि पालिकाले पर्याप्त रूपमा कार्यान्वयन नगरेको पाइएको छ।
महालेखाले औषधि भण्डारण गर्दा आवश्यक विवरण खुलाउने, खरिद समितिबाट स्पेसिफिकेसनअनुसारको गुणस्तर परीक्षण गर्ने मुचुल्का तयार गर्ने तथा प्रतिस्पर्धामूलक प्रक्रिया अपनाउने अभ्यास नभएको पनि जनाएको छ।
प्रतिवेदनमा गाउँपालिकाले आवश्यकता पहिचानबिनै औषधि खरिद गरेको, प्याकेज बनाएर प्रतिस्पर्धा बिना खरिद गरिएको तथा आपूर्ति व्यवस्थापनसमेत व्यवस्थित नभएको उल्लेख छ।
महालेखा परीक्षकले औषधि खरिद, उपयोग र मौज्दातको यथार्थ अवस्था यकिन गरी आगामी दिनमा प्रणाली सुधार गर्दै खरिद प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन सुझाव दिएको छ।
महालेखाका अनुसार स्काइ मेडिको सप्लायर्सबाट क्याल्सियम तथा आइरन ट्याब्लेट २ लाख ३२ हजार, प्रशान्त सर्जिकल हाउसबाट क्याल्सियम तथा आइरन ट्याब्लेट ३ लाख ९० हजार, बुढीगङ्गा फार्मेसीबाट विभिन्न १३ प्रकारका औषधी ९९ हजार ५५० रुपैयाँ, प्रशान्त सर्जिकल हाउसबाट विभिन्न औषधी ३ लखा ८० हजार ३५८ रुपैयाँको औषधी खरिद गरिएको छ ।
यस्तै योमन मेडिसेल्स ५ लाख ९८ हजार २४४ रुपैयाँ, के एम फार्मेसीबाट ५ लाख २६ हजार, मेडिगोल्ड इन्टरनेशनलबाट १४ लाख ९८ हजार ८३८ रुपैयाँ, के एम फार्मेसी प्रा.लिबाट विभिन्न ५६ प्रकारका औषधी ९ लाख ९९ हजार ५६९ रुपैयाँ, आर आर मेडिटेक प्रा.लिबाट ४ लाख ९९ हजार ५३७ रुपैयाँ गरी ५२ लाख २४ हजार ०९६ रुपैयाँको औषधी नियम विपरित खरिद गरिएको महालेखाको प्रतिवेदनले औँल्याएको छ ।