अछाम । चौरपाटी गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा खस्किएको देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत गत वर्षको तुलनामा घटेको हो ।
गत वर्ष २७.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको चौरपाटीमा यस वर्ष भने २६.४३ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकाभरका २८० परीक्षार्थीमध्ये ७४ जना मात्र उत्तीर्ण हुँदा २०६ जना ननग्रेड (एनजी) भएका छन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरणअनुसार बैजनाथ माध्यमिक विद्यालयबाट २० जना पास भएका छन् । ५० जना परीक्षामा सहभागी भएका थिए ।
उक्त विद्यालयबाट ४० प्रतिशत विद्यार्थी पास भएको देखाएको छ । यस्तै सिउँडी माध्यमिक विद्यालयबाट ५३ जना परीक्षार्थीमध्ये १८ जना उत्तीर्ण भएका छन् भने उत्तीर्ण प्रतिशत ३३.९६ रहेको छ ।
शिरोमणि लेखनाथ माध्यमिक विद्यालयले ५० प्रतिशत नतिजा ल्याए पनि सहभागी विद्यार्थी संख्या कम रहेको छ । उक्त विद्यालयबाट १० जना विद्यार्थीले परीक्षा दिएका थिए । यस्तै दशपल्लेपानी माविबाट ५८ जनाले परीक्षा दिएका थिए भने ९ जना मात्रै पास भएका छन् ।
दयापिपलतोला माविबाट पनि ९ जना पास भएका छन् । त्यहाँबाट ३६ जनाले परीक्षा दिएका थिए । शान्ति माविबाट परीक्षा दिएका ३३ जनामध्ये १० जना पास भएका छन् । यसैगरी गगुडा माविबाट १३ जना परीक्षामा सहभागी रहेका थिए जसमा दुईजना मात्रै पास भएका छन् ।
सबैभन्दा कमजोर नतिजा देवीमाण्डौं माध्यमिक विद्यालय दुनीको देखिएको छ । उक्त विद्यालयबाट सहभागी २७ जनामध्ये १ जना मात्रै उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ३.७० रहेको छ । पालिकाभर उत्कृष्ट जीपीए ३.५३ रहेको शिक्षा शाखाले जनाएको छ ।
उक्त जीपीए शिरोमणि लेखनाथ माध्यमिक विद्यालयका शंकर साउँदको हो । उनी पालिकामै उत्कृष्ट बनेका छन् ।
खस्कँदो नतिजाले गाउँपालिकाको शैक्षिक अवस्था, शिक्षक व्यवस्थापन, विद्यार्थीको सिकाइ स्तर तथा अभिभावकीय निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय तहले शिक्षामा लगानी बढाइरहेका बेला नतिजामा भने सुधार नआउनु चिन्ताको विषय बनेको छ ।
