काठमाडौं । सरकारले देशभर लागू सार्वजनिक बिदाको व्यवस्था पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ।
सोमबार बसेको सचिवहरूको बैठकले सार्वजनिक बिदाको संख्या, आवश्यकता र व्यवस्थापनबारे अध्ययन गरी सुझाव पेश गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार गृह मन्त्रालयका एक सहसचिवको अध्यक्षतामा कार्यदल गठन गरिएको छ।
कार्यदललाई सार्वजनिक बिदासम्बन्धी विद्यमान व्यवस्था अध्ययन गरी आवश्यक सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सरकारले हाल शनिबार र आइतबार दुई दिन साप्ताहिक बिदा लागू गरेपछि अन्य सार्वजनिक बिदाको संख्या र स्वरूप पुनरावलोकन गर्न आवश्यक ठानेको हो।
यसै सन्दर्भमा कार्यदलले विभिन्न पक्षसँग परामर्श गर्दै उपयुक्त सुझाव तयार गर्नेछ।
यद्यपि, शनिबार र आइतबारको दुईदिने साप्ताहिक बिदा कायम रहने वा परिवर्तन हुने विषयमा भने सरकारले तत्काल कुनै निर्णय गरेको छैन।कार्यदलको प्रतिवेदनपछि मात्रै त्यससम्बन्धी थप निर्णय हुन सक्ने जनाइएको छ।