अछाम । चौरपाटी गाउँपालिकाले गाउँपालिका अनुदान करार सेवामा कार्यरत ३३ जना शिक्षकलाई हटाउने निर्णय गरेपछि स्थानीय शिक्षा क्षेत्रमा तरंग पैदा भएको छ ।
गाउँपालिकाको वैशाख २८ गते बसेको बैठकको निर्णयअनुसार बालविकास बाहेक प्रावि, निमावि र मावि तहका करार शिक्षकहरूको म्याद नथप्ने निर्णय गरिएको हो ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार हटाइएका शिक्षकहरूमध्ये प्रावि तहका १८ जना, निमावि तहका १२ जना र मावि तहका ३ जना रहेका छन् ।
शिक्षा शाखा प्रमुख कल्पना ओझाले हाललाई बालविकासतर्फका शिक्षकलाई नहटाइएको बताउँदै उनीहरूलाई पनि क्रमशः हटाइने जानकारी दिइन् ।
गाउँपालिकाको निर्णयपत्रमा उल्लेख गरिएको छ, 'यस चौरपाटी गाउँपालिकाको गाउँपालिका अनुदानमा कार्यरत करार शिक्षक (बालविकास, प्रावि, निमावि, मावि) को मिति २०८२ चैत्र मसान्तपछि म्याद थप नगर्ने निर्णय भएकोले सो निर्णय कार्यान्वयन गर्न गराउन हुन अनुरोध छ।'
उसो त ती शिक्षकहरु राजनीतिक पहुँचका आधारमा भर्ना गरिएको बेलाबेला आरोप लाग्ने गरेको थियो । महालेखा परीक्षकको कार्यालयले पनि नियम विपरित शिक्षक राखिएको औंल्याउँदै आएको थियो । भने वर्षेनी शिक्षकको नाममा करोडौं बेरुजुसमेत आउने गरेको थियो ।
तर निर्णयसँगै गाउँपालिकाभित्र शिक्षक व्यवस्थापनको समस्या थप जटिल बन्ने संकेत देखिएको छ । कतिपय विद्यालयमा शिक्षक अभावका कारण पठनपाठन प्रभावित हुने अवस्था सिर्जना हुँदा केही विद्यालयमा भने आवश्यकता भन्दा बढी शिक्षक कार्यरत रहेको गुनासो छ ।
विशेषगरी वडा नम्बर ४ र ५ का विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएपछि केही विद्यालय यसअघि नै मर्ज गरिएका थिए ।
तर ती क्षेत्रमा कार्यरत शिक्षकहरू अझै पनि घरपायक पर्ने विद्यालयमै केन्द्रित रहेको आरोप छ । शिक्षक अभाव भएका विद्यालयमा उनीहरूलाई समायोजन गर्नुपर्ने मागसमेत उठ्न थालेको छ ।
स्थानीय स्तरमा राजनीतिक पहुँचका आधारमा केही विद्यालयमा शिक्षक थुपारिएको तर वास्तविक आवश्यकता भएका विद्यालयमा दरबन्दी अभाव रहेको आरोपसमेत सार्वजनिक भएको छ । यसले गाउँपालिकाको शिक्षा व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।
यता गाउँपालिकाको शिक्षा शाखाले शिक्षक व्यवस्थापनका लागि समिति गठन गरेर काम अघि बढाएको जनाएको छ । शाखा प्रमुख ओझाका अनुसार केही दिनभित्र विस्तृत छलफल गरी शिक्षक व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारी भइरहेको छ । यदि ती शिक्षकहरुलाई विद्यार्थी बढी भएको विद्यालयमा खटाए केही हदसम्म समस्या समाधान हुने कतिपयको बुझाई छ ।