लक्ष्मी आ.वि पूरै ‘निल’, शिरोमणीका छात्र पालिकामै उत्कृष्ट
अछाम । चौरपाटी गाउँपालिकाले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कक्षा ८ को अन्तिम परीक्षाको नतिजा ग्रेडिङ्गमा सार्वजनिक गरेको हो ।
शिक्षा शाखा प्रमुख कल्पना कुमारी ओझाले सार्वजनिक गरेको नतिजा अनुसार १९५ जना विद्यार्थी पास भएका छन् भने १७५ जनाले एनजी ल्याएका छन् ।
यस वर्ष ३७० जना विद्यार्थीले परीक्षा दिएका थिए । सार्वजनिक नतिजा अनुसार शिरोमणी माध्यमिक विद्यालयका भीम साउँदले सबैभन्दा उत्कृष्ट (३.६१ जीपीए) ल्याएर पास भएका छन् ।
दयापिपलतोला माविले सबैभन्दा बढी विद्यार्थी पास गराउन सफल भएको छ । उसले २३ जना विद्यार्थीमा २१ जनालाई पास गराएको छ भने २ जनाले मात्रै एनजी ग्रेड ल्याएका छन् ।
तर अर्कोतर्फ लक्ष्मी आधारभूत विद्यालय, मार्कुको अवस्था भने अत्यन्त कमजोर देखिएको छ। उक्त विद्यालयबाट परीक्षा दिएका १० जनामध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन् ।
तीमध्ये ३ जनाले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् भने बाँकी ७ जनाले कक्षा ८ पुनः दोहोर्याउनुपर्ने अवस्था आएको छ।
ग्रेडवद्धि परीक्षा बैशाख २४ र २५ गते सञ्चालन हुने शिक्षा शाखाले जनाएको छ । यस नतिजाले चौरपाटी गाउँपालिकामा शिक्षाको गुणस्तर अझै सुधारको आवश्यकता देखाएको छ ।
