अछाम । अछामको चौरपाटी गाउँपालिकाले सामुदायिक विद्यालयहरूको समायोजन तथा शिक्षक दरबन्दी मिलान गरेको छ ।
गाउँकार्यपालिकाको यही असार २३ गतेको निर्णअनुसार शिक्षक, बालविकास सहजकर्ता तथा सहयोगीहरुको दरबन्दी मिलान गरेको हो ।
गाउँपालिकाको शिक्षा शाखाका अनुसार पाँचजना प्रावि शिक्षकहरुलाई विभिन्न विद्यालयमा दरबन्दीसहित सरुवा गरिएको छ । यस्तै एकजना बालविकास सहजकर्ता र एकजना कार्यालय सहयोगीको पनि दरबन्दीसहित सरुवा गरिएको छ ।
साथै शून्य विद्यार्थी संख्या भएका आधारभूत विद्यालयहरुलाई पनि समायोजन गरिएको छ । तीविद्यालयलाई नजिकका अन्य विद्यालयमा समायोजन गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
समायोजन हुनेमा लुंग्राको देवकन्या आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालय छन् । ती दुवै विद्यालय दयापिपलतोला मावि लुंग्रामा समायोजन भएका हुन् ।
सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार उक्त निर्णय लिइएको बताइएको छ ।
सोही व्यवस्था अनुसार शिक्षक दरबन्दी मिलान अन्तर्गत विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूलाई आवश्यकता र दरबन्दीका आधारमा अन्य विद्यालयमा सरुवा गरिएको शिक्षा शाखाले जनाएको छ ।
साथै दरबन्दी मिलान भएका शिक्षक तथा समायोजन भएका विद्यालयलाई तीन दिनभित्र दरबन्दी मिलान तथा विद्यालय समायोजनको पत्र शिक्षा युवा तथा खेलकुद शाखाबाट बुझिलिन अनुरोध गरिएको छ ।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार, स्रोतको प्रभावकारी उपयोग तथा विद्यालय व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरेको हो । अझै पनि गाउँपालिकाका विभिन्न विद्यालयमा शिक्षकको अभाव रहेको छ ।
चौरपाटीमा ३३ शिक्षकको जागिर गयो, अब बढी शिक्षक भएका विद्यालयबाट समायोजनको तयारी
कुनै विद्यालयमा आवश्यकता भन्दा बढी शिक्षक अझै पनि कार्यरत छन् । शक्ति र पहुँचमा रहेका ती शिक्षकहरुको अझै पनि दरबन्दी मिलान हन सकेको छैन ।
यस अघि पालिकाले भर्ना गरेका पालिका अनुदान शिक्षकहरु हटाइएका थिए । त्यसपछि विभिन्न विद्यालयमा शिक्षकहरु अपुग छन् ।
शक्तिको आडमा नजिकको विद्यालयमा केही शिक्षकहरु अड्डा जमाएर बसेका छन् । ती शिक्षकहरुलाई पालिकाले कहिलेसम्म सरुवा गर्छ त्यो भने हेर्न बाँकी छ ।
हेर्नुहोस् सूचना :