काठमाडौं । कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको निधनप्रति सम्मान प्रकट गर्दै नेपाल सरकारले आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पूर्वअमिर थानीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपालभरका सबै सरकारी कार्यालयका साथै कतारस्थित नेपाली दूतावासमा पनि सरकारी झन्डा आधा झुकाइनेछ।
सरकारले पूर्वअमिर थानीको योगदानको सम्मानस्वरूप उक्त निर्णय गरेको जनाएको छ। विशेषगरी कतारमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर विस्तार गर्न उनले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
उनको कार्यकालमा कतारको श्रम बजार नेपाली कामदारका लागि व्यापक रूपमा खुला भएको थियो, जसबाट लाखौं नेपालीले रोजगारी प्राप्त गर्दै देशको अर्थतन्त्रमा विप्रेषणमार्फत उल्लेखनीय योगदान पुर्याएका छन्।
नेपाल र कतारबीचको श्रम, आर्थिक तथा कूटनीतिक सम्बन्ध सुदृढ बनाउन पूर्वअमिर थानीको योगदान स्मरणीय रहेको भन्दै सरकारले शोक व्यक्त गरेको छ।
